आइतबार , माघ २, २०७८

सडकमा फालिएका ‘आभाष राज’ले पाए अभिभावक , एकपटक पढेर साथ दिनुहोस ।

पुष ११, २०७८ आइतबार 111

आभाष राज’ को बिदाइको दिन जति जति नजिकिँदैछ, त्यति त्यति नर्स र चिकित्सकहरुको मुटुको धड्कन बढ्दैछ । सिरहा जिल्ला अस्पतालका लागि सबैको प्रिय छ आभाष राज ।

अस्पतालका प्रमुख डा.नागेन्द्र यादव भन्छन्, ‘हामीले यो बच्चालाई आफ्नो छोराछोरीजस्तै रेखदेख गरेका छौं । अब उसको जानेबेला भयो, तर उसलाई कसरी विदाई गर्ने गाह्रो भइरहेको छ ।’

 अस्पतालमा ल्याइएको १५ दिन भयो, यो १५ दिनमा यहाँका नर्स तथा डाक्टरहरुले उसको रेखदेखमा कुनै कमी हुन दिएनन् ।

जिल्ला प्रशासन कार्यालय, सिरहाले आभाष राजको लागि अभिभावक फेला पारिसकेको छ । कागजी प्रक्रिया पुरा भएपछि उनी काठमाडौं बस्ने अभिभावकको घरमा जानेछन् ।

मंसिर २४ देखि सिरहा जिल्ला अस्पतालमा डाक्टर र नर्सको नजरमा ‘आँखाको नानी’ रहेको आभाष राज अब केही दिनमा त्यहाँको प्यारो रहने छैन ।

२१ मंसिरको साँझ, साढे ७ बजे सिरहाको जिरोमाइल–बरियारपट्टी सडक खण्डमा स्थानीय शत्रुधन महतो काम विशेषले गइरहेका थिए । उनको कानमा लगातार बच्चा रोइरहेको आवाज आयो ।

रुवाइ पछ्याउँदै जाँदा जिरोमाइलभन्दा केही पर दक्षिणतिर सडकमा फालिएको अवस्थामा एक नाबालक फेला परे । बच्चा देखेपछि एकछिन त उनी अलमलमा परे ।

एक मन उठाएर आफ्नै घर लैजाऊँ जस्तो लाग्यो । तर कसको बच्चा हो, कहाँको बच्चा हो ? त्यतिकै लगियो भने भोलि फसाद पर्न सक्ला भन्नेसम्झेर उनी त्यहींबाट प्रहरीलाई फोन गरे ।

बच्चा फेला परेपछिको दिनदेखि उसको रेखदेख तथा व्यवस्थापनमा सुरुदेखि लागेका स्थानीय पत्रकार देवकुमार यादव भन्छन्, ‘शत्रुधन महतोको खबरमा आएको प्रहरीले त्यो बच्चालाई तत्कालै नैनपुर स्वास्थ्य चौकी पुर्यायो ।’

त्यहाँ दुई दिन उसको उपचार भयो । बच्चा स्वस्थ्य नै थियो, थप स्वास्थ्य जाँचका लागि कात्तिक २४ गते सिरहा जिल्ला अस्पतालमा भर्ना गरियो ।

बच्चा हेर्दै हँसिलो हृष्टपुष्ट रहेकाले त्यही दिन सबैलाई लोभ्यायो । उसको रेखदेखमा सुरुदेखि लागेकी नर्स प्रीति यादव भन्छिन्, ‘मेरा दुईटा छोरा छन्, एउटा ६ वर्षको र अर्को डेढ वर्षको । यो मेरो तेस्रो छोरा जस्तो भइसकेको थियो ।’

बच्चाको रेखदेखको लागि एक न एकजना हुन्थ्यो नै । कोही नभएको बेला त्यो बच्चालाई बोकेर नै नसैहरु वार्डमा ड्युटी जान्थे ।

रेखदेख गर्ने कोही नभएको बेला प्रीतिले आफ्नो घरै लगेर तेल लगाउने, नुहाउने, घाम तपाउने पनि गरिन् । आभाष राजसँग उनका दुईटै बच्चा पनि निकै रमाएर खेल्थे ।

नर्स प्रीतिले त आफ्नो दूधसमेत चुसाइन् । प्रीति मात्र होइन, त्यहाँ काम गर्ने हरेक नर्स तथा डाक्टर आफ्नै छोराजस्तो माया गर्छन् उसलाई ।

प्रीति यादव भन्छिन्,–बच्चालाई कात्तिक २४ गते २ वजेतिर अस्पतालमा ल्याइएको थियो,

त्यसअघि नै डा. नागेन्द्र यादवले मलाई जानकारी गराइसक्नु भएको थियो, हामी तयारी अवस्थामा नै थियौं । हामीले बच्चालाई देख्नेवित्तिकै आकर्षण भयौं, त्यही लोभ्यायौ ।’

अनुहार हेर्दै हँसिलो र लोभलाग्दो, अस्तपालभित्र लगेपछि सबैजना त्यसको स्यहारमा लागेको बताउँदै उनले उसलाई कुनै कुराको अभाव हुन नदिएको बताइन् ।
सु दृष्टिखबरबाट

प्रतिकृया दिनुहोस्