आइतबार , माघ ९, २०७८

हार्दिक बधाई नेपालले बङ्गलादेशमा माल्दिभ्सलाई हरायो

पुष १२, २०७८ सोमबार 67

काठमाडौं । नेपालको पुरुष टोलीले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा दोस्रो जित निकालेको छ ।

ढाकामा आइतबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले दोस्रो जित निकालेको हो ।नेपालले माल्दिभ्समाथि २७-२५, २५-१९ र २५-२३ को सेटमा जित निकालेको हो ।

खेलमा नेपालका मान बहादुर श्रेष्ठ प्लेयर अफ दि म्याच चुनिए ।यस जितसँगै नेपालले ४ खेलमा ६ अंक जोडेको छ । नेपालको फाइनल पुग्ने सम्भावना कायम रहेको छ । माल्दिभ्स अंक विहीन रहेको छ ।

यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो ।

दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको नेपालले तेस्रो खेलमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो ।

महिलातर्फ नेपाल फाइनल पुगिसकेको छ ।आइतबार उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानमाथि २५-२०,२५-२३ र २५-१४ को जित निकाल्यो ।

नेपालको यो लगातार चौंथो जित हो । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा बंगलादेशलाई ३-० को सेटमा हराएको थियो ।

नेपालले ४ खेलमा ११ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ ।

उज्वेकिस्तानको ९ अंक रहेको छ । उज्वेकिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ ।नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानको सामना गर्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस्