आइतबार , माघ ९, २०७८

पोखराको गण्डकी हस्पिटल परिसरको पूरानो गाडीमा सालनालसहित शिशु छाडेर महिला फरार

पुष १४, २०७८ बुधबार 74

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को परिसरमा रहेको पूरानो गाडीमा सालनालसहितको पुरुष जातको शिशु फेला परेको छ ।

मंगलबार बिहान साढे नौ बजेतिरको समयमा अस्पताल पुगेका एक युवकले बच्चा फेला पारेका हुन् ।

बच्चालाई जन्माउने बित्तिकै बसमै छाडेकी महिला फरार छिन् । अस्पतालमै कार्यरत महिला कर्मचारी र फेला पारेका युवकले बच्चालाई अस्पतालमा लगी उपचार गरेपछि बच्चाले जीवनदान पाएका छन् ।

अस्पतालकी कर्मचारी विष्णु तामाङले आफू स्कुटरमा जाँदै गर्दा बच्चा फेला परेको भनेपछि पूरानो बसभित्र गएर हेर्दा निकै गम्भिर अवस्थामा बच्चा फेला परेको सञ्चारकर्मीसँग बताईन् ।

‘म स्कुटरमा गइरहँदा एउटा भाइले बच्चा-बच्चा भनेर चिच्यायो । झाडीमा कुकुरको बच्चा जस्तो लागेको थियो तर मान्छेकै बच्चा रहेछ ।’

तामाङले भनिन् – ‘एउटा आँखा हेरिरहेको थियो, हात चलाइरहेको थियो। आवाज निस्किरहेको भएपनि मुखबाट फिँज आइरहेको थियो । देख्ने भाइले कुन दिदीसँग लुङ्गी मागेर ल्याउनुभयो ।

अनि उसले बसभित्रकै थोत्रो प्लाष्टिकमा सालनाल पोको पारेर बोक्यो । मैले बच्चा बोकेर अस्पतालतिर दगुरेँ ।’

अस्पतालको एनआईसियू वार्डमा नर्सिङ ईञ्चार्जका रुपमा कार्यरत सावित्री न्यौपानेले अहिले बच्चाको अवस्थामा सुधार भइरहेको जानकारी दिइन् ।

उनले भनिन् – ‘छोरो हो । साढे ३ किलोको राम्रो अवस्थामै जन्माएको रहेछ । तर, त्यस्तो ठाउँमा छोडिदिँदा यस्तो विजोक भयो । बच्चाको शरीरभरी माटो थियो ।

अस्पतालमा ल्याउँदा त एकदम गम्भिर, चिसो, शरीर पनि निलो भइसकेको थियो । श्वास फेर्न नै कठिन अवस्थाको थियो ।’

बच्चालाई तत्काल तातो बनाएर श्वास फेर्न सहज बनाउने मेसिन जडान गरेको बताउँदै बच्चालाई उपचार गरेपछि प्रहरीलाई खबर गरेको न्यौपानेले बताइन् ।

‘बच्चामा पूर्ण सुधार अझै आइसकेको छैन । अहिले उपचार भइरहेको छ । बेवारिसे बच्चाहरु भेटिएमा त्यसको रेखदेख गर्ने एकद्वार संकट व्यवस्थापन प्रणाली ‘ओसिएमसी’ भन्ने संस्था छ ।

अब त्यो संस्थाले नै बच्चाको रेखदेख गर्छ ।’ न्यौपानेले भनिन् । बच्चालाई अस्पताल लग्ने विष्णु साँझतिर हेर्न पनि गईन् । भेन्टिलेटरमा भएकाले भेट्न पाइनन् ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी रमेश थापाले अहिलेसम्म बच्चा फालेर हिँड्ने महिलाबारे थाहा हुन नसकेको बताए ।

उनले महिलाको खोजी कार्य भइरहेको जानकारी दिँदै बच्चा संरक्षणको कानुनी प्रक्रिया पनि अघि बढाइएको गण्डकन्यूजलाई बताए ।

अहिले सामाजिक सञ्जाल टिकटकमा युवक र युवतीले बच्चा बोकेर अस्पताल लगिरहेको २ वटा भिडियो भाइरल बनेको छ ।

प्रतिकृया दिनुहोस्