आइतबार , माघ ९, २०७८

कुखुरा खाइलाग्दा, मान्छे भोका-नां’गा : कपडा नहुँदा अगेनाको छेउमा !

पुष १४, २०७८ बुधबार 73

आइतबार बिहान ५ बजे कुखुरा भालेको डाँकोसँगै निद्रा खुल्यो। नित्यकर्म सकेर कान्देश्वरी आधारभूत विद्यालयको कुमार बलराम स्मृति छात्राबासबाट म ओरालो लागें।

जुनेली रात भए पनि ठूला-ठूला रूखले जुनको प्रकाश छोपिदिएका थिए।विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले टर्च लाइट बालेर गोरेटो देखाइदिए।

छात्राबासबाट करिब दुई सय मिटर तल विद्यालय भवन छ। भवन छाडेर करिब २ मिनेट ओर्लिएपछि फेरि एउटा भाले बास्यो।

दशरथ चेपाङले पालेको बढेमानको भाले रहेछ। गोरेटो आडैको खरले छाएको छाप्रो र पर्खाल नलगाइएको धन्सार दशरथको हो।

 
छाप्रोको मूल ढोकामा पखेंटा फिँजाइरहेको थियो खाइलाग्दो रातो भाले। मेरो ध्यान भने छाप्रोसँग जोडिएको धन्सारको बीच भागमा रहेको अगेनोले तान्यो।

अगेनोमा आगो बलिरहेको थियो। अगेनो वरिपरि थिए साना केटाकेटी। उनीहरू नजिकै दर्जन बढी कुखुरा र चल्लाहरू भुइँ खोस्रिँदै थिए।

एक थान च्यातिएको र मैलो कपडाले पूर्णसिंगको शरीरको माथिल्लो भागको करिब आधा हिस्सा ढाकेको। आधा हर कपडाविहीन छ वर्षीया छोरी बागमती भने भाले बास्नुअघि नै जागेकी थिइन्।

राति सुत्दा बलिरहेको आगो निभेको केही समयमा उनी ब्युँझिएकी थिइन्। १३ वर्षीया दिदी मुरलीलाई पनि उठाइन्।

दिदी–बहिनी मिलेर आगो बाले। उही छानोमुनि सुतेका दशरथ र उनका दुई श्रीमती सबेरै गाई वस्तुको स्याहार गर्न निस्किसकेका थिए।

हामीलाई देखेपछि दशरथ घरमा आइपुगे। ‘हाम्रो त सुत्ने ठाउँ नै यही हो। ओड्ने, ओछ्याउने केही छैन, खरको छानोमुनि रातभरि आगो बाल्न भएन,’ दशरथले भने,

‘यो खुला घरको माझमा आगो बाल्यो, वरिपरि सुत्यो।’ उनीसँगै आइपुगेकी जेठी श्रीमती बैरी केटाकेटीलाई सुम्सुम्याउन थालिन्।

केहीबेरमा एक वर्षे दुधे बच्चा च्यापेर दशरथकी कान्छी श्रीमती सिर्जुमाया पनि आइपुगिन्।

प्रतिकृया दिनुहोस्