आइतबार , माघ ९, २०७८

बतास भन्छन्- देउवाको मान्छे हुँ, ओलीले ज्वाइँ भन्नुहुन्छ, ब्युरोक्रेसीमा त खेल्ने हो

पुष २४, २०७८ शनिबार 37

शक्तिका आडमा पशुपतिको धर्मशालालाई लज बनाएका, सेती नदीको ढुंगा–गिटी दोहन गरिरहेका र नारायणहिटी संग्रहालयभित्र रेस्टुरेन्ट चलाउन खोजेका आनन्दराज बतास भन्छन्–देउवाको मान्छे हुँ, ओलीले ज्वाइँ भन्नुहुन्छ, ब्युरोक्रेसीमा त खेल्ने हो

शक्तिका आडमा सार्वजनिक सम्पत्ति लिजमा लिएर व्यापारिक प्रयोजनमा लगाइरहेका व्यवसायी आनन्दराज बतासले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसम्म आफ्नो पहुँच भएको बताएका छन् ।

आफू देउवाको मान्छे भएको र ससुराली झापा भएका कारण ओलीले आफूलाई ज्वाइँ भनेर सम्मान गर्ने गरेको उनको भनाइ छ । पछिल्लो समय विवादित तीनवटै ठेक्का आफूले ओली नेतृत्वकै सरकारका पालामा पाएको उनको भनाइ छ । 

‘म शेरबहादुर देउवाको मान्छे हुँ, तर मेरा तीनवटा काम केपी ओलीका पालामा भएका छन् नि !’ प्राइम टेलिभिजनको स्टिङ अप्रेसनमा व्यवसायीले बतासले भनेका छन्, ‘… मेरो ससुराली भद्रपुर हो । त्यसैले ओलीजी (केपी ओली)ले मलाई ज्वाइँ भन्नुहुन्छ ।’

राजनीतिक शक्ति नजिक भएपछि कर्मचारीतन्त्रमा खेलेर आफूले व्यवसाय हात पारेको बतासको आशय छ । अरू व्यवसायीले पनि खेल्ने उनको भनाइ छ ।

‘ब्युरोक्रेसीमा को खेल्दैन ? ब्युरोक्रेसीमा त खेल्ने हो । के लुकाउनु छ तपाईंलाई ? ब्युरोक्रेसीमा ‘हजुर यसो गरौँ, त्यसो गरौँ’ नभनीकन पाउँछ कसैले ?’ उनको भनाइ छ । 

बतास अर्गनाइजेसनले भारतले अनुदानमा बनाइदिएको पशुपतिको धर्मशाला शक्तिका आडमा लिजमा लिएर ‘थ्री स्टार’ लज बनाएका छन् । त्यस्तै, नारायणहिटी संग्रहालयभित्र रेस्टुरेन्ट चलाउने अनुमति लिएका छन् भने सेती नदी थुनेर ढुंगा–गिटी निकालेर प्राकृतिक दोहन गर्ने काम पनि गरिरहेका छन् । 

स्टिङ अप्रेसनमा बतासले आरोप लागेजसरी प्रधानमन्त्री देउवापत्नी आरजुको पैसा आफूले नचलाएको दाबी गरेका छन् । ‘सबैलाई थाहा छ– आनन्द बतास शेरबहादुर देउवाको मान्छे हो ।

देउवाको पैसा आनन्द बतासले चलाउँछ भन्छ मान्छेहरूले, एक रुपैयाँ प्रमाणित गरेर देखाओस् त ! मीनबहादुरलाई माओवादीको पैसा चलायो भन्छन्, सुमार्गीलाई पनि त्यसै भन्छन् ।

आरजु (प्रधानमन्त्रीपत्नी)को पैसा सबै मैले चलाउँछु भन्छन् क्या ! यस्तो सुन्दा मलाई दुःख लाग्छ,’ उनको गुनासो छ । 

बतासले आर्थिक शक्तिकै आडमा काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको झन्डै ६ रोपनी जग्गा र चारतले भवन पनि विनाप्रतिस्पर्धा ३५ वर्षका लागि लिजमा लिएर व्यापारिक प्रयोजनमा लगाएका छन् । 

यसरी दरबार छिरेको थियो बतास
बतास समूहले केपी ओली प्रधानमन्त्री हुँदा नारायणहिटी परिसरभित्र रेस्टुरेन्ट चलाउने ठेक्का पाएको थियो । १७ पुस ०७७ मा बतासको बिपिएस लिजिङ कम्पनी र संग्रहालय विकास समितिबीच भाडासम्बन्धी सम्झौता भएको थियो ।

समितिले आह्वान गरेको टेन्डरमा बतासकै तीनवटा कम्पनीहरूलाई प्रतिस्पर्धा गराएर सेटिङमै नारायणहिटी सुम्पिएको थियो । टेन्डरमा सहभागी बतास समूहभन्दा बाहिरको जोकर रेस्ट्रो तथा लन्जलाई भने प्राविधिक रूपमै असफल भएको भन्दै टेन्डर प्रक्रियाबाट हटाइएको थियो । सम्झौतामा बिपिएसले भवनको मासिक दुई लाख २१ हजार भाडा दिने र हरेक वर्ष १० प्रतिशत भाडा बढ्ने उल्लेख गरिएको छ ।

पशुपति धर्मशाला बतासलाई दिएको विषयमा पनि छानबिन हुँदै
बतास अर्गनाइजेशनले पशुपतिको धर्मशालामा तारे होटेल सञ्चालन गरिरहेको विषयमा छानबिन गर्न पनि सििमत गठन गरिएको छ । धर्मशाला भारतको सहयोगमा बनाइएको थियो । 

पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले सात दिनभित्रमा अध्ययन प्रतिवेदन पेस गर्नेछ । 

शक्तिका आडमा पशुपतिमैत्री धर्मशाला लिएर गरेर बतास अर्गनाइजेशनले ‘होटेल आनन्द’ सञ्चालन गरिरहेको छ । होटेल परिसरमै भिन्टेज गाडीको सोरुम पनि राखिएको छ ।

बतास समूहले सेटिङ मिलाएर अत्यन्तै न्यून भाडा तिर्ने गरी धर्मशाला भाडामा लिएर होटेल सञ्चालन गरिरहेको र होटेलमा पनि मनपरी शुल्क असुल गरिरहेको आरोप लागेपछि सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरिएका हो । 

प्राइम टेलिभिजनको स्टिङ अप्रेसनमा आनन्दराज बतास भन्छन्–
म शेरबहादुर देउवाको मान्छे हुँ । तर, मेरा तीनवटै काम केपी ओलीका पालामा भएका छन् नि ! कम्युनिस्टहरूले दिन्थे त मलाई ? टेन्डर निकाले, प्राविधिक रूपमा पास भएँ, मैले पाएँ त पाएँ ।
तपाईंलाई लाग्छ, कांग्रेसका वेला (सत्तामा रहेका वेला) कांग्रेसले मात्र पाउँछ, कम्युनिस्टका वेला कम्युनिस्टले मात्र पाउँछ ? यस्तो हुन्छ र दुनियाँमा ? 

शेरबहादुर देउवाको पैसा आनन्द बतासले चलाउँछ भन्छ मान्छेहरूले, एक रुपैयाँ प्रमाणित गरेर देखाओस् त ! मीनबहादुरलाई माओवादीको पैसा चलायो भन्छन्, सुमार्गीलाई पनि त्यसै भन्छन् । आरजु (प्रधानमन्त्रीपत्नी)को पैसा सबै मैले

मेरो ससुराली भद्रपुर हो । ओलीजी (केपी ओली)ले मलाई ज्वाइँ भन्नुहुन्छ । तर, चार वर्ष भयो उहाँसँग भेट नभएको । कुनचाहिँ टेन्डर, वल्र्ड बैंकको होस् वा एडिबीको,
कुनै विक्रम पाण्डेलाई, कुनै अर्कोलाई त पर्ने हो नि हजुर ! मलाई सोध्नुपर्छ यार तपाईंहरूले ? कसरी पर्छ, तपाईंहरूलाई नै थाहा छ नि ।
नयाँपत्रिकाबाट

प्रतिकृया दिनुहोस्