आइतबार , माघ २, २०७८

युएई जाने र युएई भएकालाई खुसीको खबर, खुल्यो यूएई भिसा सेन्टर !

पुष २९, २०७८ बिहिबार 37

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संयुक्त अरब इमिरेट्स (यूएई) भिसा सेन्टर उद्घाटन गरेको खुलेको छ ।

आउँदो महिनादेखि सञ्चालन हुने भिसा सेन्टर श्रममन्त्री श्रेष्ठले गत बिहीबार उद्घाटन गरेका हुन् ।

यूएई सरकारले नेपालमा कुन उद्देश्यका लागि भिसा सेन्टर सञ्चालन गर्न लागेको हो भन्नेबारे औपचारिक सूचना परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छैन । यूएई सरकारले आवुधाबीस्थित नेपाली दूतावासलाई समेत यसबारे औपचारिक जानकारी दिइएको छैन ।

बाहिर भिसा सेन्टर स्थापना गर्दा नेपाल सरकारबाट सहमति चाहिने भएकाले यूएईले लाजिम्पाटस्थित दूतावास परिसरबाटै भिसा सेन्टर सञ्चालन गर्न लागेको हो ।

सेन्टरबाट वैदेशिक रोजगारीका लागि यूएई जाने नेपालीको आंैठा छाप लिने, स्वास्थ्य परीक्षण गरेपछि दूतावासबाटै भिसा जारी गर्ने तयारी छ ।

सेन्टरबाट जारी हुने भिसा यूएई प्रवेशका लागि मात्र हुनेछ । त्यसपछि श्रमिकले यूएईको जुन राज्यमा काम गर्न जाने हो त्यहींको कानुनअनुसार भिसा प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ ।

दूतावासभित्र भिसा सेन्टर उद्घाटनमा मन्त्री श्रेष्ठ सरिक हुने सन्दर्भमा परराष्ट्र मन्त्रालयले पहिले नै चासो व्यक्त गरेको थियो । मन्त्रालयका तर्फबाट ‘प्रोटोकल’ का कारण जान नहुने भन्दै मन्त्री श्रेष्ठलाई सुझावसमेत दिएको थियो ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार परराष्ट्र सचिव भरतराज पौड्यालले श्रम सचिव एकनारायण अर्याललाई फोन गरी श्रममन्त्रीलाई यूएई दूतावास जानबाट रोक्न सुझाव दिएका थिए । तर त्यसको बेवास्ता गर्दै मन्त्री श्रेष्ठ कार्यक्रममा गएका थिए ।

‘श्रमको प्रतिनिधित्व आवश्यक थियो भने महानिर्देशकलाई पठाइदिनुभएको भए हुन्थ्यो,’ परराष्ट्रका एक अधिकारीले भने । श्रममन्त्री श्रेष्ठले भने नेपाल र यूएईबीचको

श्रम कूटनीतिलाई बलियो बनाउन आफू उद्घाटन कार्यक्रममा सहभागी भएको दाबी गरे । ‘यूएईले अहिलेभन्दा बढी नै नेपालीलाई रोजगारी दिने भनेको छ ।

म आवुधाबी जाँदा पनि यूएईका समकक्षीसँग कुरा भएको थियो,’ उनले भने, ‘म परराष्ट्रमन्त्रीलाई नै सोधेर दूतावास गएको हुँ ।’

मन्त्री श्रेष्ठले भिसा सेन्टरबाट नेपाली श्रमिकले सेवा लिएबापत शुल्क तिर्नुपर्ने वा नपर्नेबारे आफूलाई प्रस्ट जानकारी नभएको बताए ।

प्रतिकृया दिनुहोस्